Kirtipur, Kathmandu, Nepal
विज्ञान डीन कार्यालयको प्रशासनिक भवन शिलान्यास
काठमाडौं । भदौ १७
त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थानको डीनको कार्यालयको प्रशासनिक भवनको शिलान्यास त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा भोला थापा र विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डीन प्रा.डा शंकर प्रसाद खनालले संयुक्त रुपमा गर्नुभएको छ ।
कीर्तपुर परिसर स्थित परीक्षा नियन्त्रण कार्यलयको पछाडीपट्टी निर्माण हुन लागेको उक्त प्रशासनिक भवन डीनको कार्यालयले आफनै खर्चमा बनाउन लागेको हो । ९ करोड ४५ लाख ७८ हजार ४ सय ४४ रुपैया ४५ पैसा लागतमा बन्न लागेको उक्त भवन निर्माणको जिम्मा SIMPANI RLEV JV ले प्राप्त गरेको छ । इन्जिनियरिङ अध्ययन संस्थान कन्सलटेन्सी सेवा परामर्शदाताको रुपमा रहेको उक्त भवन निर्माणको अवधि २०८४ साउन २६ गतेसम्म रहेको छ । शिलान्यास लगत्तै आयोजित कार्यक्रमलाई संक्षिप्त सम्वोधन गर्नुहुँदै उपकुलपति प्रा.डा भोला थापाले विश्वविद्यालयका पूर्वाधारहरु निर्माणमा आफ्नौ प्रकारको मौलिकता झल्कनुपर्ने, पूर्वाधार प्राकृतिक विपत्ती थेग्न सक्षम हुनुपर्ने, विश्वविद्यालयका भवनहरुमा प्रश्न उठने अवस्थाको अन्त्य हुनुपर्ने भन्दै गुणस्तरमा कुनै सम्झौता नगरी समयमै निर्माण कार्य सक्न ठेकेदार कम्पनीलाई निर्देशन दिनुभएको छ । विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डीन प्रा.डा शंकर प्रसाद खनालले प्रशासनिक भवनको अभावका कारण डीन कार्यालयलाई दैनिक कार्य सञ्चालनमा असहजता भइरहेकोले प्रशासनिक भवन निर्माणलाई विशेष प्राथमिकता दिइएको बताउनुभएको थियो । शिलान्यासको उक्त कार्यक्रममा नवनियुक्त शिक्षाध्यक्ष प्रा.डा अन्जना महर्जन सिंह र रजिष्ट्रार डा.रविन्द्र शिवाकोटी विभिन्न अध्ययन संस्थान एवं संकायका डिन, विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तगर्तका विभिन्न विभागका विभागीय प्रमुखहरु , कार्यकारी निर्देशक,निर्देशक र महाशाखा प्रमुखहरुको उपस्थिति रहेको थियो ।