Kirtipur, Kathmandu, Nepal
त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान र काठमाडौँ रिसर्च एण्ड एजुकेशन सेन्टर (KCRE-TU) को सहकार्यमा " गुणस्तरीय प्रश्न तयारी र उत्तर पुस्तिका मूल्याङ्कनका लागि क्षमता अभिवृद्धि " विषयक वैज्ञानिक कार्यशाला गोष्ठीको तेस्रो कार्यशाला गोष्ठी चितवनको सौराहमा प्रारम्भ भएको छ ।
काठमाडौं, कीर्तिपुरमा अवस्थित केसीआरईमा दुई चरणको कार्यशाला गोष्ठी सकेर विज्ञान तथा प्रविधी अध्ययन संस्थानले विज्ञान विषय अध्यापन हुने उपत्यका बाहिरका आंगिक क्याम्पसहरु कार्यरत शिक्षकहरुलाई मिति २०८१।१२।२१ देखि २२ सम्म अन्तिम चरणको कार्यशाला गोष्ठी आयोजना गरेको हो । कार्यशालाको उद्देश्य प्राध्यापकहरूको गुणस्तरीय परीक्षा प्रश्न तयारी क्षमताको वृद्धि गर्नु र शैक्षिक प्रणालीको गुणस्तर उकास्न परिकृष्त परिक्षा प्रणालीको अभ्यास गर्ने र गुणस्तरिय उत्तरपुस्तिका परिक्षणमा सघाउ पुयाउनु रहेको छ ।
चितवनको सौराहामा अवस्थित होटल जंगल क्राउनमा आयोजित उदघाटन कार्यक्रमलाई सम्वोधन गर्नुहुँदै विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डिन प्रा. डा. शङ्करप्रसाद खनालले अनुसन्धानमा आधारित शिक्षण र विश्वव्यापी प्रतिस्पर्धामा सक्षम स्नातकहरूको आवश्यकतामा केन्द्रित हुनुपर्ने दृष्टिकोण व्यक्त गर्नुभएको थियो । "अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्न पाठ्यक्रम अद्यावधिक गर्नुका साथै परीक्षा प्रणालीलाई अन्तराष्ट्रीय तहको बनाउनुपर्ने बताउनुभएको थियो । डिन प्रा.डा खनालले कार्यशालाको महत्त्वबारे प्रकाश पार्दै उत्तर पुस्तिका मूल्याङ्कनमा गुणस्तरियता कायम गर्न र अङ्क तथा ग्रेडिङ मापदण्डलाई व्यवहारिक कार्यान्वयन गराउन विश्वविद्यालयको सवै प्राध्यापकहरुले महत्त्वपूर्ण योगदान गर्नु र विश्वविद्यालयको परीक्षा प्रणाली र प्रश्नपत्रका बारेमा भइरहेको आलोचनालाई गम्भिरतापूर्वक लिई समग्र परीक्षाप्रणालीलाई आधुनिकीकरण र वैज्ञानिक बनाउनुपर्ने उत्तरदायित्व प्राध्यापकहरुमा रहेकोले KCREको सहयोगमा यस प्रकारको कार्याशाला गोष्ठी गर्नुपरेको बताउनुभएको थियो ।
विज्ञान तथा प्रविधि अध्ययन संस्थानका पूर्व डिन प्रा.डा रामप्रसाद खतिवडाले अध्ययन संस्थानमात्रै नभई समग्र विश्वविद्यालयको लागी निकै उपयोगी मानिएको कार्यशाला गोष्ठी आयोजना गरेकोमा विज्ञान तथा प्रविधि अध्ययन संस्थानलाई विशेष धन्यवाद व्यक्त गर्नुहुँदै आगामी दिनमा डाटा साइन्स लगायतका नयाँ विषयमा समेत कार्यशाला आयोजना गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो ।
कार्यशाला गोष्ठीमा स्वागत मन्तव्य व्यक्त गर्नुहुँदै जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक तथा KCREका उपनिर्देशक डा. विनोद दवाडीले त्रिभुवन विश्वविद्यालयको शैक्षिक एवम् वैज्ञानिक क्षमता अभिवृद्धिका लागि चाइनिज एकेडेमी अफ साइन्सेसले KCREमार्फत महत्वपूर्ण योगदान गरिरहेको र विश्वविद्यालयको आवश्यकता एवं अपेक्षालाई सहयोग पुर्याउने उद्देश्यले यो कार्यशाला प्रश्नपत्र डिजाइन र उत्तर पुस्तिका मूल्याङ्कनमा हुने त्रुटिहरू रोक्न र कम गर्न आयोजना गरिएको बताउनुभएको भएको थियो ।
काठमाडौं सेन्टर फर रिसर्च एण्ड एजुकेशसन (KCRE) का उपनिर्देशक डा.सू थ्यान्लीले आगामी दिनमा चाइनिज एकेडेमी अफ साइन्सेस मार्फत KCREले विभिन्न प्रकारका क्षमता अभिवृद्धि एवम् वैज्ञानिक सहकार्य लगायतका कार्यक्रम निर्माणका लागि सहयोग गर्दै आइरहेको र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
कार्यशालाको यस तेस्रो सत्रमा विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका विज्ञान विषय अध्यापन हुने उपत्यका बाहिर कार्यरत ३० जनाको सहभागिता रहेको छ । सहभागीहरूलाई चारबटा विभिन्न समूहमा विभाजन गरी प्रश्नपत्र निर्माण र उत्तरपुस्तिका परीक्षणका विभिन्न आयायहरुमा कार्यशाला केन्द्रित गरिएको छ । कार्यशालामा प्रश्नपत्र निर्माण र उत्तर पुस्तिका परिक्षणमा लामो समयदेखि आबद्ध विज्ञहरु श्रीराम खड्का, सुनिल पोखरेल र रमेशप्रसाद सापकोटाले सहभागीहरुलाई सहजीकरण गर्नुहुनेछ ।