Kirtipur, Kathmandu, Nepal
५३ औं स्थापना दिवस सम्पन्न
काठमाडौं ।पुस १९
त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थानले ५३ औं बार्षिक दिवसको अवसरमा आफ्ना शैक्षिक तथा अनुसन्धानात्मक गतिविधि समेटेर एक विशेष कार्यक्रम आयोजना गरेको छ ।
कीर्तिपुर स्थित काठमाडौं सेन्टर फर रिसर्च एण्ड एजुकेशन (KCRE) मा आयोजित वार्षिक दिवस समारोहलाई सम्वोधन गर्नुहुँदै त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा दिपक अर्यालले विज्ञान तथा प्रविधि अध्ययन संस्थानका शैक्षिक र अनुसनात्मक क्रियाशिलताले समग्र विश्वविद्यालयको गरीमालाई उचाईमा पुर्याएको,विज्ञान र प्रविधिका विषयहरु निरन्तर अद्यवधिक भइरहेको र आगामी दिनमा अध्ययन संस्थान थप शसक्त र परिपक्व हुँदै उच्चशिक्षाको इतिहासमा थप प्रभावकारी केन्द्र बन्ने अपेक्षा गर्नुभएको थियो । आफ्नो नेतृत्वमा त्रिविलाई पुर्नसरंचनामा लैजाने,परीक्षा प्रणालिलाई थप सरल र प्रभावकारी बनाउने क्षेत्रीय परीक्षानियन्त्रण कार्यलयलाई स्तरीयकरण गरी सेवा विस्तार गर्ने, विश्वविद्यालयको भौतिक संरचनालाई गुणस्तरीय बनाई विदेशी विद्यार्थीहरुको आकर्षण बढाउने योजना गरेको समेत बताउनुभएको थियो ।
विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डीन प्रा.डा शंकर प्रसाद खनालले अध्ययन संस्थान अन्तगर्तका सम्पूर्ण शैक्षिक,अनुसन्धानमुलक एवं प्रशासनिक क्रियाकलापमा सवै प्राध्यापक,विद्यार्थी र कर्मचारीहरुको सहयोग प्राप्त भइरहेको उल्लेख गर्नुहुँदै विश्वविद्यालयलाई थप विकास र गुणस्तरीय बनाउने अभियानमा आफनो टिम प्रयत्नशिल रहेको बताउनुभयो । विश्वविद्यालयको खरिद शाखा र सूचना प्रविधि (Information Technology ) शाखालाई थप प्रभावकारी बनाउनुपर्ने र विज्ञहरुको संलग्नता गराउनुपर्ने धारणा व्यक्त गर्नुभएको थियो । स्नातकोत्तर तहका पाठ्यक्रमहरु निरन्तर परिमार्जन भइरहेको र स्नातक तहका पाठ्यक्रम परिमार्जन योजनावद्ब ढंगले गर्नुपर्ने धारणा समेत व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा विज्ञान तथा प्रविधि अध्ययन संस्थानका सहायक डिन डा.कोमलराज रिजालले विज्ञान तथा प्रविधि अध्ययन संस्थानले स्थापनाकाल देखि गरेका प्रयत्न र प्रगतिका बारेमा तयार गरिएको विस्तृत कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँले पछिल्लो समयमा अध्ययन संस्थानमा देखिएको अनुसन्धान सम्वन्धि जागरुकता, विद्यावारिधि कार्यक्रममा देखिएका आकर्षणका साथै भौतिक पूर्वाधार र पाठ्यक्रममा गरिएका सुधारहरुलाई समेत उल्लेख गर्नुभएको थियो । बार्षिक दिवसका समारोहमा विज्ञान तथा प्रविध अध्ययन संस्थानका पूर्वडीन प्रा.डा रामप्रसाद खतिवडा,विश्वविद्यालय क्याम्पस कीर्तिपुरका प्राचार्य प्रा.डा अक्कलदेव मिश्र, वनस्पतीशास्त्र केन्द्रीय विभागका विभागिय प्रमुख प्रा.डा संगीता राजभण्डारी, भौतिकशास्त्र केन्द्रीय विभागका विभागिय प्रमुख प्रा.डा नारायण प्रसाद अधिकारी, अमृत क्याम्पसका क्याम्पस प्रमुख डा. होम बहादुर बाँनिया, सहायक डीनहरु प्रा.डा. महेन्द्र महर्जन, डा. खगेश्वर मण्डल तथा अध्ययन संस्थानका लेखा प्रमुख राधिका दुललाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । बार्षिकोत्सवको अवसरमा विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालयमा कार्यरत कर्मचारीहरु उपप्रशासक केशव प्रसाद शर्मा,आर्थिक उपनियन्त्रक राधिका दुलाललाई सम्मान गर्नुका साथै अध्ययन संस्थानमा लामाे समयसम्म सेवा गरी याेगदान दिनुहुने प्राविधिक सहायक उर्मिला मर्हजन र स्वेता तुलाधरलाई सम्मान गरिएकाे थियो । अध्ययन संस्थानबाट नियमित प्रकाशन हुने बुलेटिनको सातौँ अङ्सक समेत विमोचना गरिएको थियो ।